Friday, January 6, 2017

कविता : मन बस्न मान्दैन

~राजेन्द्रप्रसाद अर्याल~
                                                 
जन्मेको ठाउँ प्राण नै सरी छ उच्च शिरैमा ।
सम्झन्छु मैले खेलेको हिजो दरौदी तीरैमा ।।
वान्धव सारा छाडेर टाढा हृदय रसायो ।
मायाको निम्ती सन्तान सम्झी मर्स्याङ्दी सुसायो ।।

सपना पनि सर्वदा देख्छु आफ्नै त्यो देशको ।
देशकै स्नेह अँगालो भरी पाएर हुर्केको ।।
झ्याउरे, चुड्का नाचेको वस्ती नियास्रो मानेर ।
तन्काइ आँखा क्षितिजतर्फ देख्छु कि भनेर ।।

बुकीको वास्ना यो दीलभरी अझैनी ताजै छ ।
दसैको पीङ, डोरीको पोयो सम्झना आलै छ  ।।
द्यौसी र भैलो मादल्को रन्को अरु क्यै जान्दिन ।
यो दुर देशमा भएनी ज्यान मन बस्न मान्दैन ।।

                   ***

—राजेन्द्रप्रसाद अर्याल,गोरखा बजार                                                           
हालः म्याडिसन,अमेरिका

No comments:

Post a Comment