Saturday, November 2, 2019

कविता : प्रतियोगिता

~अर्चना धाख्वा~

विवेकको र बलको होइन
पोशाकको न गहनाको,
केहि झलक, केहि मुस्कान
साटासाट गर्ने बहानाको ।
आज प्रतियोगिता छ रे
तिम्रो मेरो चाहनाको ।।

श्वोरको र संगीत को होइन
नृत्यको न  गानाको
न रंग चढाएर उतारेको
तस्बिर खालि पानाको ।
आज प्रतियोगिता छ रे
तिम्रो मेरो साधनाको  ।।

साहित्यबाट प्रेरित हामी
शब्द नचाउने कल्पनाको,
के सोच्छौ तिमि, म के सोच्छु
होड हाम्रो सम्झनाको ।
आज प्रतियोगिता छ रे
तिम्रो मेरो धारणा को ।।

कहिले आश कहिले त्रास
जीवन सुख र यातनाको
कविता बनाइ जो पोख्दछौँ हामी
पानाहरुमा प्रेरणाको ।
आज प्रतियोगिता छ रे
तिम्रो मेरो भावना को ।।

शख्त आवश्यकता छ रे
तिम्रो मेरो सामनाको,
जीत र हारको प्रदर्शनीमा
शुभचिन्तकको कामनाको ।
आज प्रतियोगिता छ रे
तिम्रो मेरो प्रार्थनाको ।।
आज प्रतियोगिता छ रे
तिम्रो मेरो आराधनाको ।।

(नोवेम्बर २, २०१९  मा आयोजित 'नाफा-साहित्य साँझ २०७' अन्तर्गतको 'बिजय मल्ल साहित्य पुरस्कार'मा वाचन गरिएको सहभागी प्रतियोगी कविता)

No comments:

Post a Comment