Saturday, November 2, 2019

कविता : अनुभूती

~पूर्ण श्रेष्ठ~

शून्यको अगाडि जती राखे पनि
शून्यको पछाडि जती थपे पनि
शून्यले कहिल्यै रूप फेर्दैन
किनकी शून्य पूर्ण छ ।
जे म छु बाहिर अपूर्ण छु
तर म भित्रको शून्य पूर्ण छ
म भित्र महाशून्य छ ।

म मान्छे हुँ, मसँग सबथोक छ
सङ्घर्षको आँसु छ,
सफलता पछीको हाँसो छ
यो आँसु र हाँसोको बीचमा,
मसँग केही छैन
केवल शून्य, महाशून्य छ ।

चराम गरिविको चपेटामा
कठोर श्रमको बेदनामा पनि
शान्त र सुखी छन् कोही,
बिलासिताको महलमा
रङ्गीन सपना सङ्गालेर
बेहोस हुँदै हराउँदै
रूनेहरू पनि छन् कोही ।

म मान्छे हुँ, मेरो निश्चित आयु छ
जन्मँदै वरदानमा पाएको
मृत्‍युको अमूल्य उपहार छ ।
जन्म र मृत्‍युको बीचमा
जे छ त्यो सबै खाली छ,
मसँग केही छैन, सबै खाली छ ।

म मान्छे हुँ, मसँग अनगिन्ती भोगाई छ
द्रष्टा र दृष्‍टिको लडाईंमा
मसँग अनगिन्ती हारजीत छ ।
हार र जीतको यो खेलमा
मसँग केही छैन, केवल शून्य छ ।

सृस्‍टिको यो बिराटस्वरूपमा
अनन्त ब्रम्हाण्डको मानचित्रमा
म केवल एक झिल्को हुँ ।
जीवन र मृत्‍युको अन्तरमा
केही छैन, केवल शून्य छ
देख्ने र देखिनेको मिलनमा
केवल शून्य छ, महाशून्य छ ।   

(नोवेम्बर २, २०१९  मा आयोजित 'नाफा-साहित्य साँझ २०७' अन्तर्गतको 'बिजय मल्ल साहित्य पुरस्कार'मा प्रथम भएको प्रतियोगी कविता)    

No comments:

Post a Comment