आजभोलि,
अनायास टिलपिलाउछन मेरा आखाहरु घरिघरि
घरको याद आएर झलझली
उड्दै उड्दै पुग्छ यो मन
सम्झनाको मझेरीमा
सपनाहरुमा पनि पुग्छु सधै त्यतै
अन्तरमनकै घडेरीमा !
धेरै भएछ आफ्नो घर नगएको
आत भिज्ने गरी कुवाको चिसो पानी नपिएको
घित मरुन्जेल पिढीमा नसुस्ताएको
आमासंगसंगै नाङ्ग्लोमा तरकारी नकेलाएको !
रहर अनि बाध्यताले बाधिएर
निकै टाढा आइएछ सात समुन्द्र तरेर
कुमालेको चक्रझैँ चार्नु छ अझै कति भौतारी
आशै आशमा, भेटिन्छकि भनि मुक्तिको चौतारी !
मैले घर छोडेर गएपछि
आमालाई तुलसीको मोठमा साँझ बत्ति बाल्न मन लाग्दैन रे
दशैँ तिहार आएपनि, घर वरिपरि सयपत्री मखमलि फूल रोपन मन लाग्दैन रे
म फर्किने आशमा आमा औला भाच्दै दिन गन्नु हुन्छ रे
घरमा मिठो चोखो पाक्दा, आफन्त डाक्दा, सधै मलाई सम्झनु हुन्छ रे !
पर्खिबस्नु है आमा मलाई
फुट्न नदिनु है आफ्नो धैर्येताको बाधलाई
म बाटो पहिल्याएर अबस्य फर्किनेछु एकदिन
मनको दोसाध तरेर
अन्योलको आधिभेरी छिचोलेर
अनि अभिभाराको पहाड कुल्चिएर !
समेट्ने छु तिम्रा बिस्वास एकदिन
अनि समेटिनेछु तिमीसंगै जीवन यात्रामा
अबिरल नदि झैँ बग्दै आउनेछु
आफ्नै समुन्द्ररुपी आमाको आगनमा
फर्किनेछु आफ्नै आमाको आगनमा !
(नोवेम्बर २, २०१९ मा आयोजित 'नाफा-साहित्य साँझ २०७६' अन्तर्गतको 'बिजय मल्ल साहित्य पुरस्कार'मा दोश्रो भएको प्रतियोगी कविता)
No comments:
Post a Comment