Saturday, November 2, 2019

कविता : जलन

~अप्सरा गिरी भारती~

पहिलो स्पन्दनमा आभास भयो
म केही बिशेष छु, मात्र केही अवशेष हैन
समय बग्दै गयो, ममा म भरिँदै आएँ  
आमाको अनुहारमा आभा लिपिँदै गयो
दिन सप्ताह बन्यो, सप्ताह मास
मैले चिन्दै नचिनेका आफन्त खुशी भए रे
म के रहेछु भनी आधुनिकताले मापन भए रे
सासलिनु अगावै सास थुन्न तम्सेका हातले
मलाई पहिलो पटक नराम्ररी डाम्यो ।

उज्याली, हँसिली, ओजिली पुष्प देखिएछु 
केतकी झैं मुस्काउँदा, घोचिलो काँडा देखिएछु
अबोधता पोख्दै, तुष बगाउन कोशीशरत रहेछु
निश्छलता घोल्दै, रोष भुलाउन लगिपरेकी रहेछु
सुत्केरी आमाको छातीमा बाँधिएको मेरो सास
छोरी जन्मिएको रिसमा कुल्चिएको मेरो आस
पटक पटक मेरा जनकका जननीले
सिता बनाइ पूर्न खोज्दा,
मलाई दोस्रो पटक नमज्जाले पोल्यो ।

नगोडिएरै पनि, मल-जल बिनै हुर्किएँ म
मौलाउँदै लजाउँदै फक्रीई बढेछु दुखेरै म
सबैकी प्यारी हुन,
मौन कुनौटोमा रुन
गाली धुत्कारी सुन्न,
चाहना सिलौटोमा पिन्न
बिस्तारै बानी परेछ,
समयले ममा अर्को म भरेछ
गुराँस झैं ललिमाले भरिएछु 
लाजवन्ती झैं लोलाउने भएछु
कोपिलाहुँदा भमरा पनि टाडै रहन्छ
तर विश्वासिला हातले नङ् गाढ्न उद्दत भेट्दा
मलाई फेरी नमज्जाले चट्याङले हान्यो ।

समयले पिरतीको पोको पोल्टामा हल्दियो
सजा आफ्नो संसार भनी सपना बाँड्दियो
गुँडछोडी फुरुरु उढ्यौं दुई चरी पर कहीं
बढ्यो जिन्दगी मानेर एक अर्कालाई सही
खाल्टोमा फाल्दियो परिस्थितीको बन्धनले
भिरालो भयो पल सबै जरुरतको क्रन्दनले
आँखाकी तारा कहिले तारो भएँ पत्तै भएन
बर्खाको पानी झैं बर्सिएको अबिश्वास थम्दै थामेन
मायाले मायामा मायाले बर्षाएको प्रेमिल निलडामले
मलाई अर्को पटक भित्रै पिल्सायो ।

घातका मात लिएर, पिल्सिंदै, जल्दै
बिर्सिंदै काला बादल, चाँदीघेरोमा खुल्दै
सुर्यमुखी परीपक्व, एकाग्र स्वाविलम्बी फुलेकी छे
बिना सूर्यको राप, ताप अनी प्रकाश कसरी रमेकिछे 
पाङ्ग्रा भाँचिएको गोरुगाडा एक्लै बढ्दै छ भन्छन्
बोक्सी, चरित्रहीन, दीन, छिछीको पात्रमा गन्छन्
जलाउँ कहाँ, घोचुँ कहाँ, नङ्ग्याउँ कसरी खोज्छन्
जल्नु कती छ, बल्नु कती छ जिन्दगीमा
अगी बढीरहन्छु सुवास फैलाई, एक्लै नै भए पनि
प्रकाश पोखीईरहन्छु सँधै जली, दियो भएर भए पनि ।। 

(नोवेम्बर २, २०१९  मा आयोजित 'नाफा-साहित्य साँझ २०७' अन्तर्गतको 'बिजय मल्ल साहित्य पुरस्कार'मा तेस्रो भएको प्रतियोगी कविता)

No comments:

Post a Comment