Saturday, November 2, 2019

कविता : नबुझेको युद्ध

~निकिता मिश्र पाण्डेय~

भींडमा दौडिन्छु आँत्तिएर
बाबा आमा हुन् कता
खैलाबैला कोलाहाल
छ यता उता ।

पछाडि हेर्न डर लाग्छ
साथी ढलेको पो देख्छु
अगाडि बाढ्न कर लाग्छ
कहीं पुग्छु कि सोंच्छु ।

भोकले पिल्सिएको छु
थकाई लागेको छ त्यस्तै
निदाउन भए लाग्छ
आँखा फेरी खुल्दैनन् कि ?

पानी मात्रा पर्ने आकाशबाट
बर्सिंदैछ गोली बम पनि
बारूदको धुवाँले ढाक्तैछ कतै
कालो बादल बनी ।

अपरिचित अनुहार भए पनि
उस्तै देखिन्छन् सबै यहाँ
डर र त्रासले भरिएका यि
डौडिंदैछन् कहाँ कहाँ ।

के नै बिराएथें मैले
यस्तो सजाय भोग्नु पर्‍यो
हिजो खेलेको सानो घर
खरानी भएको हेर्नु पर्‍यो ।

के पढेको थें के सुनेको थें
गलत नै थियो कि सबै
हामी नै हो भविष्य भन्ने गर्थे
मारिंदैछौं हामी सधैं ।

हिजोसम्म आफ्नो जमिन
आज अरु कसैको भयो भन्छन्
पूर्खा देखी बसेको धरा आज
हामी त्यहीं शरणार्थी भयौं भन्छन् ।

दोष कस्को खोजी दिन गुहार
अबोध बलापन पिनिएकोछ आज
स्वार्थपूरा कैसैको पुरा गर्न एउटा कोपिला
क्यापको कुनोमा थुनिएकोछ आज ।

(नोवेम्बर २, २०१९  मा आयोजित 'नाफा-साहित्य साँझ २०७' अन्तर्गतको 'बिजय मल्ल साहित्य पुरस्कार'मा वाचन गरिएको सहभागी प्रतियोगी कविता)

No comments:

Post a Comment