Saturday, March 23, 2019

गीत : आउँछ्यौ पक्कै पानी भर्न

~सीता अर्याल~

मिर्मिरेमा पँधेरीमा आउँछ्यौ पक्कै पानी भर्न
पछ्याउँनेछु मैले पनि पाउन्नौ है आँखा तर्न

न्यास्रो लाग्छ क्यारुँ मैले सम्झि मात्र जहिले पनि
डर लाग्छ धोका खाएँ थाहै होला पहिले पनि
साईत हेरी हालौँ प्रिय सकिनँ म पर सर्न
मिर्मिरेमा पँधेरीमा आउँछ्यौ पक्कै पानी भर्न

शीतल शीतल जुन जस्तै कोमल कोमल वदन तिम्रो
हेरिरहुँ जस्तो लाग्छ सुस्त सुस्त कदम तिम्रो
कहिले आउँ लिन तिम्लाई पाउन्नौ है भाका सार्न
मिर्मिरेमा पँधेरीमा आउँछ्यौ पक्कै पानी भर्न।

(मार्च २३, २०१९ का दिन सन्तोष-बिन्दू लामिछानेको निवासमा आयोजना भएको "२५औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)

No comments:

Post a Comment