Sunday, June 24, 2018

कविता : तिमी मेरी नागुरा

~दिनार 'रनादी'~

प्रियसी तिम्रो नाम अनेक !
प्रियसी तिम्रो रुप अनेक !!

टोरन्टोको तिम्रो गाउँले ठिटो डाक्टर रावतले
"नैगरा" भनी तिम्रो तारिफ गर्दा
ड्यालसका फेस्बुके तिम्रो साथी डाक्टर बानियाले
"नागरा" भनी तिम्रो गुन गाउँछ
न्यूयोर्कको तिम्रो ब्वोईफ्रेन्डले
म्यान्ह्याटनमा तिम्रो हात समातेर घुम्दै गर्दा
"नायग्रा" भनी तिमीलाई माया लाउँछ ।

प्रियसी तिम्रो नाम अनेक !
प्रियसी तिम्रो रुप अनेक !!

वैशाख-जेठमा - मारुनिको भेषमा
रोधीघरमा दोहोरी गाए झैं
जब तिमी कुलकुल बग्छौ
तिम्रो मनमोहनी रुपको
खै म कसरी तारिफ गरुँ
असार-साउनमा बाईकेके बिचमा
बिकिनीमा छलछल बग्दै
जब तिमीलाई मदहोस् देख्छु
तिम्रो त्यो वैंसको गर्मी
खै म कसरी सहुँ
भदौ-असोजमा मिनिस्कट लाएर
गजगामिनी झैं सुस्त सुस्त जब तिमी बग्छौ
अहो! त्यो चालढालको खै म कसरी बखान गरुँ
तर जब लाग्छ कात्तिक मङ्सिर
तिमी सुस्त, मन्द उदास देखिन्छौ
तब मलाई तिम्रो औधी माया लाग्छ
तिम्रो गाला मुसारेर तिमीलाई तताउँ लाग्छ
अथाह मायामा डुबेर
कसैले नदेख्ने गरी
भित्रभित्रै तिमीसँगै एकाकार भएर
अनन्त अनन्त बगुँ जस्तो लाग्छ ।

प्रियसी तिम्रो नाम अनेक !
प्रियसी तिम्रो रुप अनेक !!

परार आउँदा, हिउँको सेतो सिरक ओढेर सुतेको
तिमीलाई टाढैबाट हेरें
पोहोर आउँदा बाफ बनेर नाच्दै गरेको
तिमीलाई बादलमाथि आकाशबाट देखें
यसपाली आउँदा तिमी झरझर झरना
हातैले छोएर माया गर्ने मन छ
कविताको यो कोसेली चढाएर
भरे तिमीसँग एकैछिन
एकान्तमा बात मार्ने मन छ
तिमी "नैगरा", "नागरा" वा "नायाग्रा"
अरुले जे जे भनोस्
तिमी "पानी", "बादल" वा "बरफ"
अरुले जे जे देखोस्
तिमी मेरी "नागुरा"
मेरो मन मुटुमा बसिसकेकी छौ
थुप्रै होलान तिम्रा अरु
तर म तिम्रो भइसकेको छु ।

प्रियसी तिम्रो नाम अनेक !
प्रियसी तिम्रो रुप अनेक !!

(जुन २४, २०१८ का दिन मित्र-सन्तोषी पौडेलको निवासमा आयोजना भएको "२० औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)

No comments:

Post a Comment