Sunday, June 24, 2018

कविता : अर्थ न वर्थ गोबिन्द गाई

~नारायणदास मल्ल~


खै आज केही लेखँ भनेको, मन भित्रै फुराएन
शायद हुन सक्छ आज मलाई, केही लेख्नै जुराएन
लेख्नु पनि त के लेख्नु नै छ र यहाँ खै
बेकारमा अर्थ न वर्थ गोबिन्द गाई ।

देशको कुरो लेखुं भने, देश मेरो रोईरहेछ
उन्नती प्रगतीको कामना गर्छु सँधै, तर पनि अद्योन्नतीमा गईरहेछ
समाजको कुरा गरौं भने सबमा अहम्ता बढी रहेछ कोही अती अघाएका र को हाइ भोकै लडी रहेछ ।

परिवारका कुरा गरौं भने, छैन कसैसँग आत्मियता
न आदर सत्कार, न माया मोह, न बाँकी छन् ईमानदारिता
उनिको कुरा गरौं भने, उनी पनि त बिदेशी भैसकिन्
आफ्नो धर्मसंस्कार सबै बिस्तारइ भूल्दै गैसकिन् ।

हराइसक्यो मानवियता, हराईसक्यो संस्कारहरु
बढीरहेछ दुनियाँँमा लँडाई झगडाहरु
के वर्णन गर्नु यस्ता निरास कुराहरुलाई
बरु चुप लागेर बस्ने ठीक होला, अर्थ न वर्थ गोबिन्द गाई ।।

(जुन २४, २०१८ का दिन मित्र-सन्तोषी पौडेलको निवासमा आयोजना भएको "२० औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)

No comments:

Post a Comment