Sunday, June 24, 2018

कविता : सिमा

~आविष्कार भारती~

 आमा
डर छ रे
तडप छ रे
जलन छ रे
घ्रिणा पनि छ रे
त्यो सिमा पारी
आशाको झिनो त्यन्द्रो समात्दै
आँसुको भङ्गालोमा डूब्दै
भोक र तापको आगोमा डढ्दै
यो स्वतन्त्र हावा छोडेर
कैदी बन्ने रहर पालेर
किन जाने ? 
निर्बोध, निश्छल आँखाले सोध्छ ठुले
हामी यतै बसौँ न हुन्न ?

आमा
साथीसँग खेल्नै पाईन्न रे
काखमा लुट्पुटिनै भ्याईन्न रे
पल्लाघरे काकाले भनेको
छोई डूम खेले जस्तो छ रे
त्यो सिमा पारी
लुकामारी खेल्दै बस्नु पर्छ रे
चोर पुलिस खेल्दै भागी रहन पर्छ रे
लुकामारी, भेट्टाईको डुम अनी चोर हुन
हामी किन जाने ?
अबोध बालसुलभ काँचो प्रश्न सोध्छ साने
हामी यतै बसौँ न हुन्न ?

लागुऔषध र गिरोहको डँढेलोबाट जोगिँदै  
सन्तानका निर्दोष निष्छल्तालाई उर्जा बनाएर
उत्कट परिस्थितीलाई भोलीमा बिसाउँदै
तस्करहरुको आज्ञामा शरीर घिसार्दै
सरस शितल ममत्वले कपाल मुसार्दै
डर, जलन, उहापुह बिर्सिँदै
अस्थिरता व अनिश्चितताको घुम्टो उठाएर
अवसर अनी सुविधाको अनुहार च्याउँदै
प्यास र भोकले चिरिएका ओठ च्याती
नि:शब्द मुसुक्क मुस्काई आमा ।

रातको निष्पट्ट चकमन्नतालाई चिर्दै
आज्ञा आयो अब सिमा नजिक छ
छिटो हिँड्न पर्छ
एउटा हातले बच्चा घिसार्दै
अर्को हातले काँडे तार हटाउँदै
जसै सिमा वारी पाइला के टेके'थे
धपक्क कतैबाट केही उज्यालो आयो
टपक्क कसैले बच्चाहरु टिप्यो
चपक्क आमालाई अर्कोले समत्यो
आमा, आमा चिच्यायो बालक
सिमाका रख्वालाहरुले कैद गरे आमालाई
छुट्टीएका बचेराहरुको च्याँच्याँ कहीँ नजिकै सुनिँदै थियो
खाडलबाट निस्किएर पातालमा झरे झैँ देखीइ चरी
बिछोडको त्यस बेलामा अनी मन्द मुस्काइ आमा
म पिँजडामा भएँ त के भो
म उनिहरुसँग दूर भएँ त के भो
सिमापारी भन्दा वारी
सन्तान मेरा निर्भय सँसार अब देख्नेछन्
जीवनको यज्ञमा आशाको समिधा हाल्नेछन्
छुट्टीएरै सहि सन्तति मेरा अब सुखी रहनेछन्
अनी छियाछिया मुटु बोकेर
आमा मन्द फेरी मुस्काइ ।

(कविता सन्दर्भ : अमेरिकामा आप्रवासी समस्या घटाऊन बाबु-आमाबाट सन्तान छुटाउने क्रम उग्र भएको छ, त्यही समत्न खोइेको हो। )
 
( जुन २४, २०१८ का दिन मित्र-सन्तोषी पौडेलको निवासमा आयोजना भएको "२० औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको । )

No comments:

Post a Comment