Saturday, November 18, 2017

कविता : म के गरूँ

~डा. रमेश खनाल~

 
सुर्योदयको रंगिन लालीमासंगै
धरतिभरि फैलिएको सौन्दर्य 
सबैको हृदयमा छरिदिने मेरो उत्कट चाहना
मन भरि साँचेर
तीनै आँखाले देख्ने सम्पूर्ण चराचर जगत उपर
पोत्ने मेरो अभिलाषा
र कल्पनातीत यस ब्रह्माण्डका 
कणकणमा फैलाउने मेरो रोमान्चक प्रवृत्ति
सधै अपुरो, अधुरो रहन्छ,
म के गरूँ, म के गरूँ ।

कहिले बिराट आकाशका अनगिन्ती ताराहरु गन्दै
सबैका आगनमा खुसीको बिस्कुन सुकाउने मेरो स्वैर कल्पना
कहिले पूर्णिमाको स्निग्ध, श्वेत प्रकाशमा
लुटुपुटु खेल्दै अप्रतिम, सुन्दर सपनाहरु बाड्ने उत्कण्ठा
लेख्न नसकेको कविता जस्तै
पुग्न नसकेको गन्तब्य जस्तै
सधै अपुरो, अधुरो रहन्छ,
म के गरूँ, म के गरूँ ।

कहिले फूलै फूलको सुगन्धले
मानव हृदय भर्ने मेरो रहर
कहिले समथर भूमिमा फैलिएको हिउँको तन्ना माथि
कुची चलाउने अन्तर्मनको खसखस
बामे सर्न लागेको अबोध बालक जस्तै
दुई पाइला नटेक्दै लड्न पुग्छ
अनि मेरो प्रयास
पुन: अधुरो, अपुरो रहन्छ,
म के गरूँ, म के गरूँ

घरि बिहानीको स्वच्छ वायु झैं प्राण संचार गर्ने चाहना
घरि चिसो निर्मल जल झैँ जीवन भर्दै दौडने हुटहुटी
कहिले मरुभूमिमा गएर सुक्छ
कहिले खडेरीले ओइलाउन थाल्छ
तथापि "कर्पुरगौरम् करुणावतारम् " को प्रकाशले प्रदिप्त मेरो अन्तस्करण
पुन: प्रेम र श्रद्धाले ओतप्रोत हुन पुग्छ
नूतन भावना र उर्जाले छताछुल्ल हुन्छ
म के गरूँ, म के गरूँ।

तिमी सर्जक
म सिर्जना
तिमी कारण
म निमित्त
तिमी सत्चिदानन्द स्वरुप
म तिम्रो पंचकोष समेत बुझ्न नसकेको
एक स्थूल काया
अनि मेरा चाहना र आकाङ्क्षाहरु
तिम्रै आशिर्वाद बिना
कसरी पुरा हुनु
कसरी साकार हुनु।

तिमी र म मा छ भेद ठूलो
म एक जीव, तिमी परमेश्वर गुरो
तिमी स्वयम् प्रकाशित छौ
म तेसैले आलोकित
तथापि मेरो यो अजर आत्मा
सदा भक्त बनी भवमोचकमा
मिल्नेछ भनी निश्चय साथ
अर्पण गरी कर्म सबै
शरणागत यो जीवन सधैं
सुम्पें प्रभुकै नाउँमा, हरदम प्रभुकै पाउमा।

-     डा. रमेश खनाल
 ल्यांग्कास्टर, पेंसिल्वेनिया, नोभेम्बर १८, २०१७ 


(नोवेम्बर १८, २०१७  मा आयोजित 'नाफा-साहित्य साँझ २०७४'मा वाचन गरिएको अप्रतियोगी कविता) 

No comments:

Post a Comment