Saturday, November 18, 2017

कविता : कर्मठ मन

~अप्सरा गिरी भारती~

मायाको आथाह सागर भरिएको आँखा
कर्णप्रिय तोते बोलीको गुलियो भाका
डुब्छु चुर्लुम्म तिमीमै सर्वस्व तन मन्
छुनुमुनु गर्दै लुट्पुटीन्छौ हराउँछु म झन् ।

ममताले निथ्रुक्क रुझेको छ मुटु मेरो
मन्द मुस्कानले सजाउँछौ हरपल मेरो 
भिजेको रुवा, सिमलका भुवा बनेका छन्
जीवनको भल, निर्मल जल बनेका छन् ।


तिम्रो एक मुस्कान, कोटी सूर्य झैं मलाई
आबेगमा डढेको बेला, दया आउँछ पलाई
ति साना खुट्टा ताती ताती गर्न जो खोज्छन्
अनायसै मेरा पाइला तिम्रै पद्छाप रोज्छन् ।

गुथुमुने हात तिम्रा समाउँछन् औँला मेरा
डोह्र्याउँ-डोह्र्याउँ लाग्छ तोडेर संसारको घेरा
नृत्यमयी बामे सराई नशा मेरा भएकाछन्
पिडा-अनिद्र भूलाएर उषा मेरा भएकाछन् ।

करुण रोदन तिम्रा हर्छन् चैन मेरा
हुत्तिएर छोप्छु जसरी चरीले बचेरा
भरिएको आँखा पुछेर बादलसरी अँगालो हाल्छु जसै
निर्झर ममता पोखिन्छ छताछुल्ल यसै यसै ।

बिहानी किरण समान अमुक निर्दोषिता
निश्छल सौम्य हृदय छर्छ अबोधता
तिम्रै आँखामा पाउँछु बुद्ध पद्म शान्ती
जीवनमा भर्छु अनी इश्वेरिय कान्ती ।

छ साथ अनिश्चित समयको यात्रामा
भेट्ने छौ आशिष मेरा हरेक पाइलामा
अघी बढ्नु छ जीवनमा तिमी नडराई
अतल आशा अटल विश्वाश कहिले नडगमगाई 

सुसंस्कार, कर्तब्य र कर्मले बाटो पहिल्याई
सिक्दै, लड्दै, उठ्दै, हिँड्नु नबिराई
संसारमा धेरै जीवनहरु असहाय,अमिलो,अपूर्ण छ
तिम्रा स्वर्णिम तेज,अटल विश्वाश, कर्मठ मनले मुस्कान तिनमा भर्नुछ ।
 
(नोवेम्बर १८, २०१७ मा आयोजित 'नाफा-साहित्य साँझ २०७४' अन्तर्गतको 'बिजय मल्ल साहित्य पुरस्कार'मा प्रथम भएको प्रतियोगी कविता)

No comments:

Post a Comment