Saturday, November 18, 2017

कविता : घरिघरि आउँछे

~महेन्द्र पाठक~

उ आउँछे, घरिघरि आउँछे
कहिले सपना बनेर आउँछे
कहिले बिपना बोकेर आउँछे
कहिले आशा बाँड्दै आउँछे
कहिले सहारा बनेर आउँछे
किन आउँछे बताउँदिन मलाई
तर ऊ हरदिन म कहाँ आउँछे .

हो, ऊ मलाई भेट्न आउँछे या भेटिन आउँछे
खुसि भए खुसि बाँड्न आउँछे
पाई भने मेरो दु:ख लिन आउँछे

लिन भन्दा बढी दिन आउँछे
मेरो मनको बोली गुनगुनाउँदै आउँछे
मैले गाउने गीतको ऊ सरगम बनि आउँछे
मैले कदम सार्दा ऊ छायाँ बनि आउँछे
हो ऊ (घरिघरि आउँछे)2 

कहिले मेरै मजाक उडाउँदै आउँछे
कहिले उत्तेजना फिँजाउँदै आउँछे
बदलामा कुन्नि के अपेक्षा गर्छे
आफूसँगै आफै डराउँदै आउँछे
मोही माग्ने ढुङ्ग्रो लुकाउने
मनभित्र कुन्नि के डर पालेर आउँछे
समुद्रबाट मागेको छाल बनेर आउँछे
आफै आगो बनेर आगो निल्न आउँछे
ऊ आउँछे , घरिघरि आउँछे !

कहिले सेलाफोनको मेसेन्जरमा आउँछे
द्विविधाको भूमरीमा रिसाएको बहाना गर्दै आउँछे
केहि नलागे ऊ मेरो कविताको हरफ भएर आउँछे
कहिले ऊ मेरो खालि गिलास भएर आउँछे
आधा गाग्री पानि लिएर आउँछे
ऊ मनको प्यास लिएर आउँछे
जन्जिरको बन्धन तोडेर आउँछे
हिराको संसार छोडेर आउँछे
चुपचाप अनि लुकीलुकी आउँछे
त्यो हुतिहारा आइमाई घरिघरि आउँछे
निन्द पनि लागि चैन पनि लागि
तैपनि अझै (लुकीलुकी आउँछे )2

(नोवेम्बर १८, २०१७ मा आयोजित 'नाफा-साहित्य साँझ २०७४' अन्तर्गतको 'बिजय मल्ल साहित्य पुरस्कार'मा वाचन गरिएको सहभागी प्रतियोगी कविता)

No comments:

Post a Comment