Saturday, November 22, 2014

कविता : नारायणीसँग

~डा. रमेश खनाल~

आईरहेछु दर्शन अन्तिम गर्न
टलपल टलपल गर्दै नयन
जान्छु अब हे, प्रिय सखे
पवित्र स्‍मृति सँचिराखे ।

महानदि मेरो स्वीकार बिदा
देखाई आफ्नो सौन्दर्य छटा
म जान्छु तिमीदेखी दूरस्थलमा

सम्झिरहुँ तिम्रो छवी सदा ।

सँझपखको गर्विलो छाती
हेर्थें निधारमा हात राखी
मेरो सिन्धु तट अब बिदा
देखाउ तिम्रो सौन्दर्य छटा ।

प्रकाशपुञ्ज बेला सूर्यास्तको
जसै पर्छन् अतुल जबराशिमा
लहर उठ्छन् छल्-तरङ्ग
डुब्थें म तिम्रै अश्मितासँग ।

समेट्तै झरनाहरु श्वेता दुधिला
कती नदी भए बिलिन रसिला
च्याप्दै र चेपिंदै मैदानमा आयौ
हाम्राइ वीर, अमर गाथा गायौ ।

गर्जन्थ्यौ कहीं प्रभाल अती
कहीं शाहअज शान्ती, गाम्भिर्य बोकी
अथाह तिम्रो गहिराई भित्र
देखाउ तिम्रो सौन्दर्य चित्र ।

म डुब्दै डुब्दै जल तरङ्गमा
बग्थें कती अजस्र भावनामा
हाए ! तिमीदेखी अब दूर हुन्छु
देख्दै तिम्रो सपना, म रुन्छु ।

समुद्रमा तिमी अब जाउ मित्र
हरियाली कोर्दै वरपर सचित्र
म जान्छु तिमीदेखी दूर्स्थलमा
सेचन गर्दै जलले शिरमा ।

सेतो तिम्रो बगर बिराट
सम्झी हृदय नहोस् उराठ
देखाउ तिमी अन्तिम ठाँट
लेखुँ म कविता टाढैबाट ।

जबजब गर्थ्यौ हुँकार तिमी
तबतब गर्थ्यौ बबंडर अती
उर्लंदो छल, प्रपञ्च भित्र
मानव जीवन नौजाडे मित्र ।

लिई छातीमा विश्वाश हाम्रो
फैलाई शान्ती सन्देश राम्रो
जाउ अब तिमी दूर देशमा
म प्राप्त हुन्छु तिमीमै पुन: ।

महानदी ! मेरो स्विकार बिदा
अन्तिम सौन्दर्य रुप छटा
देखाउ अनुपाम दिव्य चित्र
मोती खसाई दूर हुन्छु प्रिय ।

(नोवेम्बर २२, २०१४  मा आयोजित 'नाफा-साहित्य साँझ २०७१'मा वाचन गरिएको अप्रतियोगी कविता) 

No comments:

Post a Comment