Saturday, July 29, 2017

कविता : म मेरो देशसँग नै छु

~राजेन्द्रप्रसाद अर्याल~
                                                
बर्षौ भयो, हो म परदेशमा छु
आमाको न्यानो काख बाहिर
बिनाको सुगन्ध खोज्दै
भौतारीई रहेको कस्तुरी मृग बनि
धेरै टाढा
पाताल प्रवासमा छु
तथापि लाग्छ मलाई
म मेरो देशसँग नै छु ।

 
यो सीमारेखा बाहिर पनि
प्रियाजन र स्वजन भेटेको छु
सान्निध्यता उही छ
माया-मोह र सद्भाव उही छ
उनीहरूका ओठहरुमा मुस्कुराईरहेको
आँखामा टिल्पिलाईरहेको
आफ्नै देश देखेको छु
अङ्ग-अङ्गहरुबाट बगिरहेको
माटोको सुगन्ध भेटेको छु
म मेरो देशसँग नै छु ।

संस्कृतिको दैलो उघार्दै
दसैंंमा म रमाएको छु
नयाँ वर्ष र तिहारमा
छम्छम्  नाचेको छु
आफ्नै गीतहरूमा
धुन बनेर देश गुञ्जिरहेछ
चित्र बनेर देश स्पर्श भएको छ
कसरी भनु विदेशमा छु
म मेरो देशसँग नै छु ।

देश केवल भूगोलमा मात्र
सीमित हुँदो रहेनछ
जन्मभूमिभन्दा पर-पर रहने
प्रियाजनहरुको मन अनि भावनामा
धड्किइरहँदो रहेछ देश
परदेसिएका आफन्तजनहरुको हृदयमा
सगरमाथाको विम्ब देखेको छु
देश दुखेको बेला
सहयोगी हातहरू
एकत्रित भएको भेटेको छु
हो, सिमाना काटेर आएको छु
अपितु, म मेरो देशसँग नै छु ।

कसैले भन्न सक्छ मलाई
ऊ विदेश गएको छ
तर एक्लै म अवश्य छैन
संस्कार, संस्कृति र साहित्य
भाषा, भेष अनि भोजन
आएका छन् आफैसँग छायाँ बनी
त्यसैमा म पौडिरहेछु
रत, यो पराइ देश नै किन नहोस्
आफ्नै माटोको सुगन्ध अनुभूत भई'रहेछ
म मेरो देशसँग नै छु
मेरो देश मसँग नै छ
हृदयमा सधैँ देश स्पन्दित भईरहेछ ।



                   ***

—राजेन्द्रप्रसाद अर्याल,गोरखा बजार                                                           
हालः म्याडिसन,अमेरिका 

  
(जुलाई २९, २०१७ का दिन आबिष्कार-अप्सराको भारती निवासमा आयोजना भएको "१७ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको । ) 

No comments:

Post a Comment