Saturday, July 29, 2017

कविता : कर्मठ मन

~अप्सरा गिरी भारती~

मायाको आथाह सागर भरिएको आँखा
कर्णप्रिय तोते बोलीको गुलियो भाका
डुब्छु चुर्लुम्म तिमीमै सर्वस्व तन मन् 
छुनुमुनु गर्दै लुट्पुटीन्छौ हराउँछु म झन् ।

ममताले निथ्रुक्क रुझेको छ मुटु मेरो
मन्द मुस्कानले सजाउँछौ हरपल मेरो  
भिजेको रुवा, सिमलका भुवा बनेका छन्
जीवनको भल, निर्मल जल बनेका छन् ।
तिम्रो एक मुस्कान, कोटी सूर्य झैं मलाई
आबेगमा डढेको बेला, दया आउँछ पलाई
ति साना खुट्टा ताती ताती गर्न जो खोज्छन्
अनायसै मेरा पाइला तिम्रै पद्छाप रोज्छन् ।

गुथुमुने हात तिम्रा समाउँछन् औँला मेरा
डोह्र्याउँ-डोह्र्याउँ लाग्छ तोडेर संसारको घेरा
नृत्यमयी बामे सराई नशा मेरा भएकाछन्
पिडा-अनिद्र भूलाएर उषा मेरा भएकाछन् । 

अघी बढ्नु छ जीवनमा तिमी नडराई
सिक्दै, लड्दै, उठ्दै, हिँड्नु नबिराई
संसारमा धेरै जीवनहरु असहाय,अमिलो,अपूर्ण छन्
तिम्रा स्वर्णिम तेज,अटल विश्वाश, कर्मठ मनले मुस्कान तिनमा भर्नेछन् । 

(जुलाई २९, २०१७ का दिन आबिष्कार-अप्सराको भारती निवासमा आयोजना भएको "१७ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको । )

No comments:

Post a Comment