Saturday, April 15, 2017

कविता : सम्झना

~डा. रमेश खनाल~

जीवनलाई जिउने क्रममा
या भनौं जीविकोपार्जनको शिलशिलामा
जिन्दगीका आरोह अबरोहहरुको एउटा शृङ्खला 
अर्को एउटा खुट्किलो उक्लिने प्रयत्न
माया, प्रेम र स्नेहको थैली नभरिदै
मेरो आफ्नै आत्मियता समेत
स्वयं रित्तिने गरी दिन नपाउदै
अलिकति खल्लो मन लिएर
केहि गरुङ्गा पाइला लिएर
धेरै भारी मन बोकेर
केहि पर पुग्नु पर्यो
अर्कै ठाउमा उछिट्टिनु पर्यो
नया खेती गर्नु पर्यो।
स्वामी नित्यानन्दजीको
"माया मेट्रिक्स" भित्र अल्झिएको म
शंकराचार्यको "मा कुरू धनजन यौवन गर्वं
हरति निमेषात्काल: सर्बं" को महत्ता
अझै बुझ्न नसकेकोले होला
सफलताको नाटक गर्दै
व्यवशायिक जीवनमा भएको प्रगतिको अभिमानमा
कहिले यता, कहिले उता
घरि तल, घरि माथि
एक पाइला अघि हो कि
दुइ पाइला पछि हो समेत भेउ नपाइ
स्वयंलाई नदीको निर्मल जल प्रवाहमा
सलिलातापूर्बक, शितलतापूर्बक बग्न दिएको उपक्रम गर्दै
भुमरी भित्रै घुमिरहेछु, घुमिरहेछु।
अपरिमित आनन्दले आफ्नो सम्पूर्णतालाई
भिजाउन नसके पनि
ईशावाश्य मिदं सर्वं को
विशाल आलिङ्गन भित्र समेटिएको
अनुपम अनुभूति
प्रगाढ सम्झना 
बुद्धका अर्ध मुदित नयन भित्र
साँचीरहेछु, साँचीरहेछु।
म भित्रको सौन्दर्य
या भनौं ईश्वर प्रतिको प्रेम र समर्पण
मैले पछाडी छाडेको समय
र त्यसले देखाएका प्रतिबिम्बहरुद्वारा
धुमिल हुनुको सट्टा
"चैतन्य शाश्वत: शान्तो: ब्योमातितो निरन्जन:" झैं
फैलिरहेछ - अबिराम, निरन्तर
त्यसको कर्ण प्रिय गुञ्जन
र तिम्रै मधुर सम्झनाको मृदु स्पर्श
मुटुको एउटा कुन भित्र लुकाउदै
मेरो समग्र अस्तित्व
रोमान्चित भैरहेछ, पुलकित भैरहेछ।

डा. रमेश खनाल, म्याडिसन, विस्कनसिन।
म्याडिसन, विस्कनसिनबाट ल्याङ्गकास्टर, पेन्सिलभेनिया गए पछि म्याडिसनको सम्झनामा लेखिएको कबिता

(अप्रिल १५, २०१७  मा आयोजित 'नाफा नयाँ वर्ष २०७४'मा वाचन गरिएको कविता) 

No comments:

Post a Comment