Saturday, March 4, 2017

गजल : कम्मर मर्काएर हिँडिन्

~आविष्कार भारती~

उनले अलिकती कम्मर मर्काएर हिँडिन्
झिमझिम परेली एक फेर कर्काएर हिँडिन् ।।

हर साँझ सिठ्ठी र जिब्राका पटकाहरु
मिठो मुस्कानले जलाई पड्काएर हिँडिन् ।।
मदका प्यासी ति अनगिन्ती अन्तिहरु
फकत ज़ुल्फको पछारले चर्काएर हिँडिन् ।।

ढकमक्क फुलेको जोवनमा लठ्ठिन्छन् भमराहरु
चञ्चल बिनोदी इशाराले सर्काएर हिँडिन् ।।

माग्छन् पलपल बसन्तले मग्मगाएको बागहरु
साटिएको त्यो दुई पल पनि फर्काएर हिँडिन् ।।

प्रेमिल नजरहरुको बर्षातमा निथ्रुक्क तिमी
प्रेम पनि 'आविष्कार' हो ? भनी थर्काएर हिँडिन् ।।
 
(मार्च ४, २०१७मा राजेन्द्र-सिता अर्यालले स्वाद रेस्टौरेन्टमा आयोजना गर्नु भएको पुस्तक लोकार्पण एवम् 'नेपाली कोठे साहित्य कार्यक्रम' मा वाचन गरिएको)

No comments:

Post a Comment