Saturday, March 4, 2017

कविता : जिन्दगी

~नीर शंकर श्रेष्ठ~

आफैमा गुनासो छ समयले नेटो काटे छ
हिसाब जोड्दा तीन बिस आठ नाघिसके छ
तै पनि मन तन्नेरी नै छ ।

मगमग बास्ना आउने भुटेको तोरिको तेल
कपालमा दलिदली बनाएको जुल्फी
आज हावा हुण्डरी र घाम पानीले
जतनले सजाएको जुल्फी कहीँ उजाड बन्दै

कहीँ सेताम्मै भईसकेछ
तै पनि काँइयो चलाऊने रहर छँदैछ ।

गाउँघर बस्तीमा कच्ची नयाँ बाटो कोरिए झैं
निधारमा असरल्ल रेखा र धर्काहरुले ठाउँँ लाइसकेछ
छुँदा पोटिलो, रसिलो, कसिलो गाला
चाम्रिएर झोलिएर पैछो जान थालेछ
तै पनि राम्रो हुने हुट्हुटी जिउँदै छ ।

दुई नेत्र ब्याट्री डाउन भएको टर्चलाईट जस्तै भईसकेछ
कहिले धमिलो प्रकाश छर्दै

कहिले झ्याप्प निभ्दै
अनी पाइला सार्दा बाटो ठम्याउन गाह्रो भईसकेछ
तै पनी हिँड्दा दाँया-बाँया पल्याक्क पुलुक्क हेर्ने रहर ताजै छ ।

जिउको त के कुरा अनेक मरम्मत संभार भईसकेको छ
पूरानो गाडी झैं कहीँ पानी हाल्दै
कहीँ नटबोल्ट कस्दै कहिले ठेल्दै
जिन्दगीको गाडी यती सम्म धकेलिएको छ
तै पनि दौडने रहर उस्तै छ ।

करले नै सहि रहरले नै सहि
डेन्टिङ्ग-पेन्टिङ्ग यहाँ सम्म सजाईएको छ
कतै ठोकिए रङ्ग झर्ने डर छ
जिन्दगी न हो जती जतन गरेनी लम्पसार पर्न के बेर ?
तै पनि हिँडुन्जेल हिँडेको हिँडै गर्ने रहर छ ।

बिहान ७ बजे
अप्रिल ९, २०१६

(मार्च ४, २०१७मा राजेन्द्र-सिता अर्यालले स्वाद रेस्टौरेन्टमा आयोजना गर्नु भएको पुस्तक लोकार्पण एवम् 'नेपाली कोठे साहित्य कार्यक्रम' मा वाचन गरिएको)

No comments:

Post a Comment