Saturday, October 1, 2016

गजल : को आउँदैछ आज ?

~सीता अर्याल 

साँझमा दैलो कुरी बस्यौ को आउँदैछ आज ?
उतै नजर छरी बस्यौ को आउँदैछ आज ?

थोत्रो टिशर्ट लगाइ बस्थ्यौ हिजो अस्ती घरमा
सुट टाइ नै पहिरी बस्यौ को आउँदैछ आज ?



एउटा बत्ती बाले पनि भैहाल्थ्यो त सँधै
झुमर सहित बाली बस्यौ को आउँदैछ आज ?

शरीर भरी अत्तर छर्यौ सधैंँ भन्दा धेरै
जेबमा नयाँ औँठी राख्यौ को आउँदैछ आज ?

मलाई आज आँखा तर्यौ सँधै हाँस्ने मुहार
बोल्न पनि गाह्रो भयो को आउँदैछ आज ?


(अक्टोबर १, २०१६ का दिनमा रमेश-मन्दिरा खनालको निवासमा भएको 'नेपाली कोठे साहित्य कार्यक्रम'को १३ औँ श्रिङ्खलामा वाचन गरिएको)

No comments:

Post a Comment