Saturday, September 26, 2015

कविता : शहिद हराएको सूचना

~उर्जा श्रेष्ठ~

पह्रार वैशाखमा...
मासाङ् गल्लीमा मदिरा सेवान गरेर
रत्नपार्कको सएरमा निस्केको
वीर बहादुर नेपाली
केराको बोक्रामा चिप्लिएर
मृत्‍युको मुखमा पुगे
देश भरका जड्याहा मिलेर
टाएर बाले देश ठप्प पारे
जड्याहाहरुको एउटै माग
वीर बहादुरलाई शहिद घोषणा गराइ छाडे
उन्को शालीक
शहिद ढोकामा
गंगालाल सँगै राखियो

दशरथचन्द्र छक्कै परे
शुक्रराजले नाक थुने
धर्मभक्तले मलाई भने
उर्जा नानी, जाँड गन्हायो उत्पात भो
कतै अन्तै बसाइ सर्नु पर्‍यो ।

पोहोर...
मेरै गाउँको लुरे काका
शिवरात्रीमा काँक्रो चोर्न जाँदा
खाल्टामा खसेर परम्धाम पुगे
लुरेकाकालाई शहिद घोषणा गर्नुपर्छ भनी
देश्भरका चोरहरु एक्जूट भए
चक्काजाम, राँके जुलुस, बन्द, हड्ताल सबै गरे
आखिरमा हाम्रो लुरे काका पनि
अमर शहिद घोषणा भए
उन्को शालिक पनि धर्मभक्तसँगै ठडियो
यो देखेर अरु त अरु
श्रीपेच लगाउने शहिद पनि
शहिद ढोकामा छक्कै परे ।

यस्पाली...
डनचरी र घैंटेहरु
प्रहरीको मुठ्भेडमा ठहरै भए
डनका नेता, कार्यकर्ता नारा जुलुस गर्दैछन्
देश ठप्प पर्दैछन्
डनहरुको नारा एउटै छ
चरी घैँटे दुवैलाई
शहिद घोषणा गराउनु छ ।

आजको ताजा खबर
लुच्चा शहिदहरुको भिंडबाट
सच्चा शहिदहरु हराएको सूचना छ
यो खबर सुनेदेखी
नेपाल आमा रोएर बिछट्ट छ
यो उर्जाको यही कविता मार्फत
मात्रा एउटै पुकार छ
यताकतै गंगालाल भेटिए, धर्मभक्त देखिए
नेपालतिर फर्काई दिनुहोला
शुक्रराजलाई सम्झाई बुझाई
दशरथचन्दलाई ललाई फकाइ
नेपाल आमलाई बुझाईदिनु होला ।।

(सेप्टेम्बर २६,२०१५ मा आयोजित 'नाफा - साहित्य साँझ २०७२'अन्तर्गतको 'बिजय मल्ल साहित्य पुरस्कार'मा वाचन गरिएको सहभागी प्रतियोगी कविता)

No comments:

Post a Comment