Saturday, July 12, 2014

कविता : मेरा साथीहरु

~पूर्ण श्रेष्ठ~

म सँग साथीहरु धेरै छन्
कोही रुपका धनी छन्
कोही मनका धनी छन्
कोही ज्ञानका धनी छन्
कोही मानका धनी छन्
कोही सानका धनी छन् ।।

चिल्लो चुच्चो जुत्ता लगाउने
खल्तीमा संधै काईंयो भिर्ने
चिटिक्क जुल्फी हल्लाउँदै
'के छ खबर आजकाल' सोध्ने
त्यो मेरो रुपको साथी ।।


सरसहयोग चाहिन्छ कि
कतै बिसन्चो पो भयो कि
घर ब्यवहार बारेमा सोध्ने
काम, व्यवसाय, खानपिन बुझ्ने
त्यो मेरो मनको साथी ।।

पौराणिक प्रसंग मिलाउने
आधुनिक व्यवहार जानेको
धर्म, संस्कृति, संस्कार
भूगोल, ईतिहास बताउने
त्यो मेरो ज्ञानको साथी ।।

आफ्ना पुर्ख्यौली सम्पत्ती
उच्च ओहोदाका नातेदार
आफ्नो पद र पौरखको
बखान गरेर नथाक्ने
अभिमानी मानको साथी ।।

रसिलो भई मेरो हरेक
वाक्यमा हो मा हो मिलाउने
कुरा पटक्कै नकाट्ने
हिन्दी फिलिमको सर्किट
जस्तो सानको साथी ।।

(२०१औं भानु जयन्ती, जुलाई १२ २०१४ - आविष्कार-अप्सरा भारतीको डेरामा भएको 'नेपाली कोठे साहित्य कार्यक्रम')

No comments:

Post a Comment