Sunday, May 26, 2013

कविता : चटक को दर्शक म

~अविमन पसछें~

चटक को दर्शक म
एकछिन रमाउन खोज्छु

भुक्तान गरिसकेको आँसुको
सट्टा केहि हाँस्न  खोज्छु


लामखुट्टेको संगीतमा लट्ठयाउँदै
झेल्ली गरि चुसिएका रगतहरु
ठगिएका पसिना बगेर
झन् भासिएका धरातलहरु

भुल्न चाहन्छु म

चटक को दर्शक म
एकछिन रमाउन खोज्छु

समय असाक्षेप यात्राबाट
पूर्णबिश्राम चाहन्छु म

ढेदुमानवको लगाममा
हिंडेका बाँदरहरुको हुलबाट 
खुल्लामंचमा भेला हुने
थरि थरिका भेंडाहरुबाट
छुटिन चाहन्छु म
 
चटक को दर्शक म
एकछिन रमाउन खोज्छु

हुट्टीट्याउंको आवाजबाट
टाढिन  चाहन्छु म

भविष्यलाई थाँती राखी
सभ्यता रोक्नेहरुलाई 
अगुवा भएर पनि
बामे नसर्ने हरुलाई
बहिस्कार गर्न चाहन्छु म

( मे २६, २०१३ – कोठे कवि गोष्ठी – सन्तोष-बिन्दु लामिछानेको डेरामा )

No comments:

Post a Comment