Saturday, October 8, 2011

कविता : भोली कवि

~सुरेन्द्र प्रजापती~

भानुभक्त भए आदिकवि
मोतिराम भए युवाकवि
लक्ष्मीप्रसद भए महाकवि
कुनै बेला भन्थें हुन्छु म भोली कवि ।।

डाँफे चरीको निवन्धसँगै नेपाली पनि सिक्न थालें
नटिप्नु हेर कोपिला भन्दै कविता पनि पढ्न थालें
पद्य मात्र होइन कविता गद्य पनि हुँदो रहेछ
प्रयास गरे कविता पनि सिर्जन गर्न सकिंदो रहेछ ।।


बिद्धालयमा धेरै चोटि कविता कोर्ने मौका पाएँ
भोली लेख्छु भन्दा भन्दै पटक पटक मैले टारें
दाजुको कविता सुन्द सुन्दै बिद्धालय जीवन सकिगयो
कविता लेख्ने मेरो इच्छा भोलिवादमा नै अड्किरह्यो ।।

कविताहरु सुन्दै गएँ भानु जयन्तीहरुमा
दाजुले दिएको कविता पढें एउटा प्रतियोगितामा
कवितासँगै दाजुले दिएको हौसल मैले बुझ्न सकिन
भोली भोली भन्दा भन्दै अझै पनि कविता कोर्न सकिन ।।

कुनै बेला रावणले पनि भोलिको माला जप्थ्यो रे
भोली भोली बभनेको भए सुनमा सुगन्ध हुन्थ्यो रे
भोलिसम्म नकुरेको भए स्वर्ग जाने बाटो बन्थ्यो रे
भोलिको साथ छोडेको भए हुन्थें होल म कवि सुरेन्द्रे ।।

भानुभक्त भए आदिकवि
मोतिराम भए युवाकवि
लक्ष्मीप्रसद भए महाकवि
कुनै बेला भन्थें हुन्छु म भोली कवि ।।

(नाफा-सहित्य साँझ २०६६ मा सहभागी कविता )

No comments:

Post a Comment